समाचार/news
बाँफिकोट गाउँपालिकाको परिचय
बाँफिकोट गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पश्चिम ) जिल्लामा पर्ने एक स्थानीय तह हो |गाउँपालिकाको कुल क्षेत्रफल १९०.४३ वर्ग किलोमिटर छ । नेपालको नयाँ संविधान, २०७२ बमोजिम यसअघिका ५ गाविस गाभिएर बाँफिकोट गाउँपालिका स्थापना भएको थियो । बाँफिकोट, पिपल, दुली (वार्ड नं ४, ५ र ६) र मग्मा (वार्ड नं १-६ र ९) गाउँपालिकालाई कुल १० वडामा विभाजन गरिएको छ र सदरमुकाम बाँफिकोटमा अवस्थित छ ।बाँफिकोट गाउँपालिका पूर्वमा सिस्ने गाउँपालिका (रुकुम पूर्व जिल्ला), दक्षिणमा मुसिकोट नगरपालिका, पश्चिममा सानीभेरी गाउँपालिका र उत्तरमा आठबिसकोट नगरपालिका पर्दछ।यस गाउँपालिकामा १० वटा वडा रहेका छन् । बाँफिकोट गाउँपालिका वडा नं. ४ स्थित बाँफिकोट गाउँपालिकाको केन्द्रमा अवस्थित रहेको छ । सानीभेरी नदीको किनारामा अवस्थित छिनखेत बजार यस बाँफिकोट गाउँपालिका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । यस बाँफिकोट गाउँपालिकाको मुख्य पर्यटकिय स्थल स्यार्पु ताल रहेको छ । बि.स. २०७८ सालको जनगणना अनुसार बाँफिकोट गाउँपालिकाको कुल जनसंङ्ख्या २०९४० रहेको छ। जसमध्ये महिलाको संख्या १०८५५ र पुरुषको संख्या १००८५ रहेको छ। बाँफिकोट गाउँपालिकामा जम्मा घर संख्या ४३९८ रहेको छ भने परिवार संख्या ४८२७ रहेको छ।
बाँफिकोट राज्य (कोट) को संक्षिप्त इतिहासः
बाँफिकोट हालको रुकुम पश्चिम जिल्लामा अवस्थित एक ऐतिहासिक स्थान हो। "बाँफिकोट" नाममा रहेको "कोट" शब्दले यहाँ कुनै समय किल्ला वा राज्यको प्रशासनिक तथा सैनिक केन्द्र रहेको संकेत गर्छ। मध्यकालीन नेपालको बाइसे–चौबिसे राज्यकालमा रुकुम क्षेत्र विभिन्न स्थानीय राजाहरू तथा सामन्तहरूको प्रभावमा रहेको मानिन्छ। स्थानीय जनश्रुति अनुसार बाँफिकोट क्षेत्रमा खस राजाहरूको शासन प्रभाव थियो र यहाँ सुरक्षाका लागि कोट (किल्ला) निर्माण गरिएको थियो। यही कोटको वरिपरि बस्ती विकास हुँदै गएर बाँफिकोट नाम प्रचलनमा आएको विश्वास गरिन्छ। बाँफिकोट राज्य संचालन गर्ने राजाहरुको खास ऐतिहासिक विवरण नभेटिएपनि यहाँका संस्थापक राजा जगदीश बम र अन्तिम राजा अति मल्ल भएको भन्ने सुनुन्छ । यद्यपि बाँफिकोटलाई जुम्ला, सल्यान वा आठबीसकोटजस्तो स्वतन्त्र शक्तिशाली राज्यको रूपमा उल्लेख गर्ने प्रमाणित ऐतिहासिक स्रोतहरू सीमित छन्।
ऐतिहासिक महत्वः
-प्राचीन समयमा रणनीतिक दृष्टिले महत्वपूर्ण पहाडी कोट रहेको मानिन्छ।
-खस सभ्यता र संस्कृतिको प्रभाव रहेको क्षेत्र हो।
-रुकुम क्षेत्रका अन्य ऐतिहासिक कोटहरूसँग यसको सम्बन्ध रहेको स्थानीय इतिहासकारहरूले उल्लेख गर्ने गरेका छन्।
-नेपाल एकीकरण अभियानपछि यो क्षेत्र गोरखा राज्यअन्तर्गत आएको थियो।
वर्तमान अवस्थाः
हाल बाँफिकोट रुकुम पश्चिम जिल्लाको एक स्थानीय तहका रूपमा स्थापित छ। नेपालको संघीय संरचना अनुसार २०७३ सालमा गठन भएको बाँफिकोट गाउँपालिका ऐतिहासिक बाँफिकोट क्षेत्रलाई समेटेर सञ्चालनमा आएको हो।